नेपाली डोमेन र सर्भरको दुरुपयोग, मन्त्रालयको वेबसाइटमा भारतीय कम्पनीको रजगज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली डोमेन र सर्भरको दुरुपयोग, मन्त्रालयको वेबसाइटमा भारतीय कम्पनीको रजगज


१३ मंसिर २०८०, बुधबार



काठमाडौँ । नेपाली डोमेन र सर्भर दुरुपयोग भएको पाइएको छ । नेपाली डोमेन र सर्भर प्रयोग गरेर भारतीय निजी कम्पनीको वेबसाइट सञ्चालन भइरहेको पाइएको हो । जीओभी डट एनपी नेपाली डोमेन नेपाली सरकारी कार्यालयका वेबसाइटले मात्र प्रयोग गर्न पाउने डोमेन हो । तर, यही डोमेनको प्रयोग गरेर भारतीय कम्पनी सञ्चालन भइरहेको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइटमा राखिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लिंकमा क्लिक गर्दा भारतीय निजी कम्पनीको वेबसाइट खुल्ने गरेको छ । एमओएलएमओसी डट पी थ्री जीओभी डट एनपी क्लिक गर्दा भारतीय निजी कम्पनी आदित्य ग्रुपको वेबसाइट खुल्ने गरेको हो । वेबसाइटमा जीओभी डट एनपीको अर्थ नेपाल सरकार भन्ने हो । जीओभी डट एनपी नेपाल डोमेन भएका कारण यो नेपालका सरकारी कार्यालयले मात्र प्रयोग गर्नु पर्ने हो । तर, फितलो व्यवस्थापनका कारण नेपाली डोमेनको दुरुपयोग भएको छ ।

सरकारी वेबसाइटका लागि डोमेन र सर्भर सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी)ले प्रदान गर्ने गर्दछ । सरकारी निकायहरु द्वारा प्रयोग गरिने सर्भर र डोमेनका लागि नै केन्द्र स्थापना भएको हो ।

यसले डाटा भण्डारण, साझा कम्प्युटिङ स्रोतहरू, ईमेल/इन्टरनेट र वेबसाइट होस्टिङ साथै जुन कुनै पनि डाटा सेन्टरको सामान्य कामका लागि सबै सरकारी मन्त्रालय र विभागलाई सेवाहरू प्रदान गर्ने गर्दछ । तर, केन्द्रका एक कर्मचारीले उक्त डोमेन केन्द्रले होस्टिङ नगरेको जानकारी दिए । केन्द्रले उक्त डोमेन होस्टिङ नगरे पनि सरकारी वेबसाइट बारे अनविज्ञता प्रकट गर्नु गैरजिम्मेवारी हो । उनले भने, ‘यो अनधिकृत नै हो । यसबारे बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय जिम्मेवार हुनु पर्छ ।’

यसबारे बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ताको मोवाइल अफ छ भने सूचना अधिकारीको मोबाइल आउटअफ सर्भिस छ ।

Tags :
प्रतिक्रिया दिनुहोस