प्रदेशलाई अधिकार नदिएर अलपत्र पारेको मुख्यमन्त्री चौधरीको गुनासो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रदेशलाई अधिकार नदिएर अलपत्र पारेको मुख्यमन्त्री चौधरीको गुनासो


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीय सरकारले संविधानको मूल मर्मअनुसार प्रदेशलाई अधिकार नदिँदा धेरै काम अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।

‘अधिकार प्राप्त नहुँदा प्रदेश सरकार ‘पंगु’ बनेको छ, यो विषयमा धेरै पटक धेरै ठाउँमा आवाज उठाएपनि सुनुवाइ भएकै छैन’मंगलबार नेपाली काँग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले गर्न सक्ने कामहरू पनि संविधानको मूल मर्मअनुसार अधिकार नदिँदा अलपत्र परेको जनाए ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेशको विकासका लागि कुनै समस्या नरहेको बताउँदै प्रदेशलाई अधिकार दिए सङ्घीयताको कार्यान्वयनसँगै देशको विकास सजिलोसँग गर्न सकिने धारणा राखेका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेश जति विकास गर्न सक्ने र जनतालाई सजिलै हेर्न सक्ने सरकार कुनै पनि बन्न नसक्ने दाबी गरे । उनले प्रदेशलाई अधिकार दिएर प्रदेश प्रदेश बीचमा विकासमा प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएकै कार्यक्रममा यो विषय धेरै पटक उठाइरहेका छन् । प्रदेश सरकारले बनाएका कानुनसमेत सङ्घीय सरकारले नबनाउँदा अलपत्र परेको र त्यसको अपजस पनि प्रदेश सरकारलाई आइरहेको उनको गुनासो थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस