हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ


२ मंसिर २०८०, शनिबार


राँझा (बाँके) । बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् ।

हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । ‘पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, यादवले भने, ‘हुलाकी सडक नरैनापुरवासीका लागि धेरै सहज भएको छ ।’

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फ १० किलोमिटर क्षेत्रमा हुलाकी सडक निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

उनका अनुसार राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटरमा एपिक्स कन्काई खड्का जेभीले ७६ करोड रुपैयाँको लागतमा कालोपत्र गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम दुई अर्ब ७८ करोड रुपैयाँमा शर्मा एण्ड कम्पनीले काम गरिरहेको छ । नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फको १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तार ज्ञानिश शारदा जेभीले १२ करोड रुपैयाँमा गरिरहेको छ । तीनवटै हुलाकी सडकको काम तीव्रगतिमा भइरहेको इन्जिनियर पाण्डेको भनाइ छ ।

शनिबारमात्रै हुलाकी सडकको अनुगमन गरेकी नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपा शर्माले काम तीव्रगतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिइन् । उनले हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस