भूकम्प प्रभावित क्षेत्रमा शौचालय अभाव हुँदा महिनावारी भएका महिला र बालिकाहरु थप समस्यामा : आयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भूकम्प प्रभावित क्षेत्रमा शौचालय अभाव हुँदा महिनावारी भएका महिला र बालिकाहरु थप समस्यामा : आयोग


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा शौचालयको अभाव हुँदा प्रभावितहरुले थप समस्या भोग्नु गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले शुक्रबार विज्ञप्ति निकालेर शौचालयको अभावका कारण महिनावारी भएका महिला र बालिकाहरुले थप समस्या भोग्नुपरिरहेको तथ्यहरु अनुगमनबाट पाइएको जनाएको हो ।

आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पश्चात सामूहिक बसाईको अवस्थामा पानी, शौचालय, सरसफाईलगायतका अभावका कारण हुन सक्ने विभिन्न किसिमका सरुवा रोग र महामारीको जोखिमबाट सुरक्षित राख्न आवश्यक पहल गर्न र राहत कार्य छरितो र समयमै वितरणका लागि तीनै तहका सरकारबिच प्रभावकारी समन्वय गर्न आग्रह गरिएको छ ।

कार्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला लगायतका जिल्लाहरुमा भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे आयोगका सदस्यहरु मिहिर ठाकुर र लिली थापा नेतृत्वको टोलीले अनुगमन गरेको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा रुकुम जिल्लाको आठबीसकोट नगरपालिका- १४ स्थित छेपारे गाउँमा राहत स्वरुप वितरण गरिएका त्रिपालहरुबाट शीत चुहिने गरेको र तल ओछ्याइएका मेट्रेसहरु पातलो भई तलबाट चिसो आउने भएका कारण सुत्केरी महिला, बालबालिकाहरु र ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएको, चिसो बढ्दै गइरहेको अवस्थामा न्यानो कपडाको अपर्याप्तता र त्रिपालको बसाइका कारण सुत्केरी, बालबालिका, बिरामी र जेष्ठ नागरिकहरुमा समस्या देखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार भूकम्प प्रभावित क्षेत्रका अधिकांश विद्यालय भवनहरु क्षतिग्रस्त हुँदा विद्यालय बन्द भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस