रुट ईजाजत नलिई सञ्चालनमा आएका ईरिक्सा/टेम्पुलाई कारवाही हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रुट ईजाजत नलिई सञ्चालनमा आएका ईरिक्सा/टेम्पुलाई कारवाही हुने


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाले रुट ईजाजत नलिई सञ्चालनमा आएका ईरिक्सा/टेम्पुलाई कारवाही गर्ने भएको छ । उपमहानगरपालिकाले शुक्रवार सूचना निकालेर रुट ईजाजत नलिई सञ्चालन गरेको पाइएमा कानून बमोजिम कारवाही हुने जनाएको हो ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘ बुटवल उपमहानगरपालिकामा रुट ईजाजत र अस्थायी रुट ईजाजत लिएका ईरिक्सा/टेम्पुमात्र संचालन गर्ने अन्यथा रुट ईजाजत नलिई सञ्चालन गरेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ ।’ उपमहानगरपालिकालाई तिर्नुपर्ने वक्यौता रुट ईजाजत शुल्क यहि मसिंर मसान्तभित्र अनिवार्य रुपमा बुझाउन भनिएको छ । अन्यथा रुट ईजाजत खारेज गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

‘विलवुक, लाईसेन्स, विमा नियमित रुपमा नविकरण गरेको र यस उपमहानगरपालिकालाई तिर्नुपर्ने विगत देखिको वक्यौता रुट ईजाजत शुल्क यहि २०८० मसिंर मसान्त भित्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ । अन्यथा रुट ईजाजत खारेज गर्न सकिने छ,’ सूचनामा उल्लेख छ । उपमहानगरपालिकाले ईरिक्सा/टेम्पु सवारी धनी एवं चालकको फोटो सहितको परिचय पत्र र भाडादर सवैले देख्ने गरी आफ्नो सवारी साधनमा राख्न भनेको छ ।

यसैगरी मादक पदार्थ वा लागू औषध सेवन गरी सवारी साधन सञ्चालन गर्न नपाईने, कुनै प्रकारको विज्ञापन सामाग्री राख्न पाईने, यात्रुसँग शिष्ट, मर्यादित व्यवहार गर्नुपर्ने र सवारी साधन प्रयोग गरी अनैतिक तथा गैरकानूनी कार्य गर्न नहुने सूचनामा उल्लेख छ । ईरिक्सा/टेम्पु बुटवल उपमहानगरपालिकाको पूर्व पश्चिम र सिद्धार्थ राजमार्ग प्रयोग नगरी भित्री सडकहरुमा मात्र सञ्चालन गर्न पाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस