मूल ठेकेदारको लापरबाहीले आयोजनाहरूको काममा ढिलाइ : सिके राउत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मूल ठेकेदारको लापरबाहीले आयोजनाहरूको काममा ढिलाइ : सिके राउत


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सप्तरी-२ बाट निर्वाचित संघीय सांसद डा. चन्द्रकान्त राउत (सिके) संयोजकत्वको संघीय संसदीयको उपसमितिले जिल्लामा निर्माणाधीन आयोजनाहरूको अनुगमन गरेको छ।

संसदीय पूर्वाधार विकास समितिको निर्णायानुसार उनीहरूले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका राजविराजस्थित बसपार्क, सपिङ्ग कम्पेलेक्स, अस्पताल, हुलाकी राजमार्गअन्तर्गतको राजविराज-पकली कन्चनपुर सडक-खण्ड, कठौना-पातो सडक-खण्ड, बलान नदीदेखि राजविराजसम्मको सडक खण्ड, रुपनीराजविराज-हनुमाननगर सडक खण्ड, राजविराज-छिन्नमस्ता सडक, रुपनी कटैया छिन्नमस्ता सडक, भारदह डेढहा-पकरी सडक र इनरुवा-लाठीकोइलाठी सडक आयोजनाको स्थलगत अनुगमन गरेका हुन्।

बिहीबार बिहान अनुगमनपश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसमितिका संयोजक राउतले मूल ठेकेदारहरूको लापरबाहीको कारण निर्माणमा ढिलाइ भएको बताए। ‘मूल ठेकेदारहरूको लापरबाहीले आयोजनाहरू तयार हुनमा विलम्ब भएको हो,’ उनले भने, ‘अस्पतालको भवन, सपिङ्ग कम्प्लेक्समा काम भएको छ। सही तरिकाले काम गरियो भने दुई तीन महिनामा काम पूरा हुन्छ।’

राउतले संसदीय अनुगमन समिति आइरहेको बुझ्दा समेत मूल ठेकेदार निर्माणस्थलमा नरहेकोप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘अनुगमन टोली आइरहेको बुझेपनि उनीहरू आएनन्, चरम लापरवाही देखाएका छन्।’

आगामी कारबाहीका सम्बन्धमा समितिमा प्रतिवेदन पेश गरी ठेकेदारसँग छलफल गरिने उनको भनाइ छ। उनले भने, ‘संसदीय समितिमा प्रतिवेदन पेश गर्ने छौँ, ठेकेदारसँग बसेर छलफल गर्ने छौँ, त्यसपछि पनि काम गर्न लापरवाही गरे कारबाही अगाडि बढाउँछौँ, कालोसुचीमा राख्न सिफारिस गर्छौँ।’ अनुगमन टोलीमा सप्तरी-३ बाट निर्वाचित सांसद दिनेश यादव, सांसदहरु निशा डाँगी र विना लामा, सुशीला श्रेष्ठ रहेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस