‘दरबारका हुक्के र चम्चेबाहेक कोही राजतन्त्रको पक्षमा छैनन्’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘दरबारका हुक्के र चम्चेबाहेक कोही राजतन्त्रको पक्षमा छैनन्’


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको बताएका छन् । उनले इतिहास भइसकेको वंश परम्परा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने उल्लेख गरे ।

निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै उनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको पुनले चर्चा गरे ।

‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए । तिनीहरू स्वभाविक रूपले राजतन्त्रकै निरन्तरता चाहन्थे’, पार्टी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीबार ललितपुरको लगनखेलमा गरेको कार्यक्रममा पुनले भने, ‘वंशाणुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरुले राजतन्त्र चाहिन्छ भन्नुलाई विकल्कुल अस्वभाविक मान्नुपर्दैन ।’

पुनले राजतन्त्रमा जनताले राज्यका लाभ नपाएको स्पष्ट रहेको भन्दै आमजनता गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा रहेको दाबी गरे । गणतन्त्र, संविधान, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका राजनीतिक उपलब्धी बचाउनु माओवादीसहित १२ बुँदे समझदारी, ०६२र०६३ को जनआन्दोलन शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सहभागी मूलधारका राजनीतिक दलहरूको दायित्व भएको पुनले बताए ।

आधुनिक नेपालको राजनीति १२ बुँदे समझदारीको जगबाट अघि बढेकाले त्यस पक्षधर शत्तिहरुबीच दैनन्दिनका राजनीतिक एजेण्डामा विमति भए पनि उपलब्धी बचाउने सवालमा समानता रहेको उनको भनाइ थियो ।

‘आजको राजनीति गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीताको र सामाजिक न्यायको राजनीति हो । यसलाई समर्थन गर्ने मूलधारका राजनीतिक शक्तिहरूले यी परिवर्तनका आधार स्तम्भहरूलाई थप विकास, सुदृढ र परिस्कृत गर्दै जाँदा जनताको म्याण्डेटबाट गलहत्याइएको राजतन्त्र फर्कने कुनै गुञ्जायास छैन’, पुनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस