उप-राष्ट्रपतिद्वारा नेपालीलाई रोजगारी दिएकोमा युएईप्रति आभार व्यक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उप-राष्ट्रपतिद्वारा नेपालीलाई रोजगारी दिएकोमा युएईप्रति आभार व्यक्त


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गरेका छन्। 

उपराष्ट्रपति कार्यालय लैनचौरमा आज नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीसँगको भेटमा उनले युएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृत्रिम बौद्धिकता र नवप्रवर्तन लगायतको क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिए।

नेपालमा भव्य प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, आतिथ्य र विविध साहसिक पर्यटनका अवसर रहेको उल्लेख गर्दै उनले व्यस्त आधुनिक सहरी जीवनभन्दा फरक ढङ्गले बिदा मनाउन इमिराती पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने बताएका उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। 

सो अवसरमा राजदूत अल शाम्सीले नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपछिको पुनः निर्माणमा आफ्नो मुलुकले सहयोग गर्न चाहेको बताए।

राजदूत अल शाम्सीले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आफूले बढीभन्दा बढी इमाराती पर्यटकलाई नेपाल भित्र्याउन प्रयास गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस