काठमाडौँ । पाटन अस्पतालमा उपचाररत बिरामीको सुई लगाइदिएलगत्तै मृत्यु भएछि मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरिने भएको छ । सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै ओखलढुङ्गाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको थियो ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको आरोप आफन्तले लगाएपछि नगरकोटीको शव पोस्टमार्टम गर्न लागिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । पोस्टमार्टमका लागि नगरकोटीको शव शिक्षण अस्पताल पठाइएको छ । आफन्तले मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको लागि निवेदन दिएकाले शव शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले आवासकीय चिकित्सकमाथि हातपात समेत गरेका थिए । ओखलढुङ्गाकी राईको शव आफन्तले घर लगिसकेका छन् । राई कार्तिक १६ र नगरकोटी कार्तिक १० मा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
उपचारकै क्रममा शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत उनीहरुलाई एन्टिबायोटिक औषधि चलाएका थिए । अस्पतालका अनुसार नगरकोटी र राईलाई सेफ्ट्रियाक्सोन औषधि चलाइएको थियो । औषधि चलाएको पाँच मिनेटमै दुवै बिरामीको मृत्यु भएको थियो ।
अस्पतालका निर्देशक डा. शाक्यले भने, ‘उहाँहरु अस्पताल भर्ना भएदेखि नै सोही औषधि चलाइएको थियो । त्यसैले औषधिकै कारण मृत्यु भयो भन्ने कुरा प्रुफ गर्नु पर्छ । मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नभएर संयोग हुनसक्छ ।’ आफन्तले अनुसन्धान हुनु पर्छ भनेर राखेको मागलाई अस्पतालले उच्च सम्मान गर्दै कार्यान्वयन गर्ने तर्फ लागि सकेको डा. शाक्यले जानकारी दिए ।