बाँके प्रशासनले ‘नागरिक रिपोर्ट कार्ड’को नामबाट प्रयोगमा ल्यायो आफ्नै क्युआर कोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाँके प्रशासनले ‘नागरिक रिपोर्ट कार्ड’को नामबाट प्रयोगमा ल्यायो आफ्नै क्युआर कोड


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त हुने सेवाका सम्बन्धमा सेवाग्राहीले क्युआर कोड मार्फत सुझाव दिन सक्ने भएका छन् । सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका सम्बन्धमा आफ्नो अनुभूति, कर्मचारीको व्यवहार र कार्यालयकै मूल्याङ्कन गर्न सक्ने गरी क्युआर कोडको व्यवस्था गरिएको हो ।

‘नागरिक रिपोर्ट कार्ड’ नाम दिइएको क्युआर कोड स्क्यान गरी त्यसमा सोधिएका प्रश्नहरूको उत्तर छनौट गर्दै सेवाग्राहीले सेवा प्रदान गर्ने कार्यमा संलग्न कर्मचारी र कार्यालयको मूल्याङ्कन गर्न सक्नेछन्।

प्राप्त भएको सेवाको गुणस्तर, कर्मचारीको बोलिबचन, व्यवहार, सास्ती वा झन्झट खेप्नु परे/नपरेको अनुभूति, राजस्व बाहेक अतिरिक्त पैसा तिर्नु परे/नपरेको, सेवा नपाएको अवस्थामा त्यसको चित्त बुझ्दो कारण पाएरनपाएको जस्ता तिता मीठा अनुभूति तथा भविष्यमा कर्मचारी र कार्यालयले गर्नुपर्ने सुधारका क्षेत्रहरू समेटिएका प्रश्नावली मार्फत सेवाग्राहीहरूले कर्मचारीको व्यवहारको मात्र नभई जिल्ला प्रशासन कार्यालय बाँकेको समग्र सेवा प्रवाहको अवस्थाबारे मूल्याकंन गर्न सक्ने भएका हुन् ।

कार्यालयले प्रयोगमा ल्याएको क्युआर कोड मोबाइल फोन मार्फत स्क्यान गरी प्रत्येक सेवाग्राहीले पृष्ठपोषण दिन सक्ने गरी सुविधा मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । उक्त कोड मार्फत कार्यालयमा सेवा प्राप्त गर्न गएका सेवाग्राहीले मात्र नभई जुनसुकै स्थानमा रहेका व्यक्तिले पनि बाँके प्रशासनलाई सूझाव/सल्लाह दिन सक्ने उनले बताए ।

सेवाग्राहीको आखाँबाट कर्मचारी र कार्यालयको छवि परीक्षण गर्न यो प्रविधि निकै उपयोगी हुने उनको विश्वास छ । यसअघि इलाम जिल्ला प्रशासनमा रहँदा पोखरेलले नै पहिलो पटक क्युआर कोड मार्फत मूल्याङ्कन गर्न सकिने पद्धतिको अभ्यास गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस