गत वर्ष सडक दुर्घटनाबाट १ लाख ६८ हजार ४९१ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गत वर्ष सडक दुर्घटनाबाट १ लाख ६८ हजार ४९१ जनाको मृत्यु


१५ कार्तिक २०८०, बुधबार


नयाँदिल्ली । भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी १ लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । उक्त वर्षमा ४ लाख ४३ हजार ३६६ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

भारतको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ ।

घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२२ मा ४ लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये १ लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, १ लाख ६ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी २ लाख २ हजार ६३३ वटा अन्य सडकमा भएका थिए ।

‘सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका छन्’, प्रतिवेदनमा भनिएको छ ।

सडक दुर्घटनाबाट हुने मृत्युको ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन् । प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्ने जस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारीसाधनहरूको अवस्था सुधार गर्न लगानी गर्न महत्त्वपूर्ण छ ।’

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक सडक दुर्घटना हुने गरेको छ । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस