महासचिव गुटेरेसले संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा : प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महासचिव गुटेरेसले संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा : प्रधानमन्त्री


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् ।

संसद्‌ भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिबी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे ।

‘राष्ट्रसङ्घका महासचिवले बोल्न सक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो, ‘प्रधानमन्त्री दाहालले भने, ‘जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरु छुट्याउने भन्ने, यो भन्दा ठूलो कुरा केही हुन्न ।’

महासचिव गुटेरेसबाट शान्तिप्रक्रियाबारे पनि राम्रो धारणा आएको प्रधानमन्त्री दाहालको भनाइ छ । तर नेपालकै केही नेताहरुले देश विभाजित छ भन्ने देखाएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘नेपालको शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसको राम्रो धारणा छ । नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ, ’उनले भने ।

यसैबीच, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले महासचिव गुटेरेसले नेपाली राष्ट्रको राम्रो मूल्याङ्कन गरेको बताए ।

महासचिव गुटेरेसले वातावरण र गरिबी निवारणको बारेमा बोलेको उल्लेख गर्दै ओलीले भने, ‘सम्पन्न, धनी देशहरूलाई र संयुक्त राष्ट्रसङ्घका प्रतिबद्धता र नेपालको सजगताको कुरा गर्नुभएको छ । शान्ति प्रक्रियालाई पीडितमैत्री बनाउने कुरा गर्नुभएको छ ।’

महासचिव गुटेरेसले संघीय संसद्‌का दुवै सदनको बैठकलाई मंगलबार सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस