बाँके सिडिओको फरक स्वाद, राहदानी र राष्ट्रिय परिचय पत्रको फारम कर्मचारीले नै निःशुल्क भरिदिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाँके सिडिओको फरक स्वाद, राहदानी र राष्ट्रिय परिचय पत्रको फारम कर्मचारीले नै निःशुल्क भरिदिने


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । अधिकांश निकायमा सरकारले प्रदान गर्ने सेवा अझै सुस्त छ । सरकारका प्रतिनिधि मानिने कर्मचारीको व्यवहार पनि उस्तै छ, यानिकी अनुहार हेरेर सेवा दिने ।

हुने र गर्नैपर्ने काम मात्रै गर्दा पनि हाईहाई पाउने अवस्था हुनुले पनि भन्न सकिन्छ कि कर्मचारी कति सारो जुम्सो र कन्जुस बन्दै गएको छ, नागरिकलाई प्रदान गरिने सेवा प्रवाहका मामिलामा । जसको फाइदा केही बिचौलिया तथा व्यवसायीहरूले लिँदै आएका छन् ।

निःशुल्क पाउनुपर्ने सेवाका लागि पनि सेवाग्राहीले ठूलो मूल्य र समय चुनाउनु परेको तितो यथार्थका बिच राजनीतिज्ञ र प्रशासकहरूले सुशासनको रटान भने शब्दैपिच्छे झुण्ड्याउन बिर्सिँदैनन् । तर, यिनै अवस्था र व्यवस्थाबिच कतिपय कर्मचारीहरूको थोरै इच्छाशक्तिले पनि सेवा प्रवाहमा सहजता ल्याएका उदाहरणहरू पनि छन् । यस्तै उदाहरणीय काम गरेका छन् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा लिने सेवाग्राहीको अनलाइन फारम कार्यालय परिसर भित्रै कर्मचारीहरूबाट नै निःशुल्क भरिदिने व्यवस्था मिलाएका छन् । अब सेवाग्राहीहरूले राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम भर्न कहिकतै भौँतारिनु पर्दैन, आफ्नो प्रमाण लिएर कार्यालयको सम्बन्धित फाँटमा सम्पर्क राख्न सक्नेछन् । 

राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम कार्यालयका कर्मचारीले नै निःशुल्क भरिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार फारम भरेकै दिन फोटो खिच्ने व्यवस्था पनि मिलाइएको छ । ‘यसका लागि समय बुक गर्न र फारम भरेको पैसा तिर्नु पर्दैन । एकै दिनमा सेवा पाउनु हुनेछ ।’ उनले भने, ‘राजस्व मात्र तिर्नुपर्छ ।’

कार्यालयमै मौजात कर्मचारीबाटै उक्त सेवा दिने व्यवस्था मिलाइएको हो । सबै सेवा कार्यालय परिसरबाटै दिने लक्ष राखेको कार्यालयले पहिलो चरणमा राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम कर्मचारीले भरिदिने व्यवस्था मिलाइएको हो । योसँगै अनलाइन फारम बाहिरबाट पैसा तिरेर भर्नुपर्ने बाध्यता हटेको छ । 

यसअघि इलाममा रहँदा उनले सेवा प्रवाहलाई सहज बनाउन अनलाइन फारम कार्यालयका कर्मचारीबाटै भरिदिने व्यवस्था मिलाएका थिए । साथै क्युआर कोडमार्फत सुझाव सङ्कलन गरेर सेवाग्राहीको प्रशंसा बटुलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस