फिर्के खोला मिच्ने १६० संरचना ३५ दिनभित्र हटाउन निर्देशन, नहटाए महानगरले डोजर चलाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फिर्के खोला मिच्ने १६० संरचना ३५ दिनभित्र हटाउन निर्देशन, नहटाए महानगरले डोजर चलाउने


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । सीमाङ्कन टोलीले प्रतिवेदन बुझाएको एक महिनापछि पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्रभित्र बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै खोला बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

तोकिएको मितिभित्र संरचनाहरू नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने महानगरले निकालेको सूचनामा उल्लेख गरिएको छ । यसअघि पोखरा महानगरले गठन गरेको फिर्के खोला सीमाङ्कन टोलीले असोज ६ गते प्रतिवेदन पेश गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्केखोला नै हराउने र प्राकृतिक विपत्ति निम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

पोखरा महानगरले गठन गरेको सीमाङ्कन टोलीले फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएको प्रतिवेदन पेश गरेको थियो । सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेकोसो प्रतिवेदनमा खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेका छन् ।

सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औँल्याएको थियो ।

खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ । सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भहरू गाडिएको छ ।

टोलीले साउन ३ देखि भदौ २ गतेसम्म नापजाँच गरेको थियो । मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको सङ्कटपूर्ण घडीमा पुगेको छ । ८ किमी लम्बाइको यो खोला पोखरा महानगरपालिकाको वडा नम्बर १८, २, ४, ५, ७, ८, ६ र १७ भएर बग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस