सौराहामा विदेशी पर्यटकले मनाए दशैं « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सौराहामा विदेशी पर्यटकले मनाए दशैं


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् । हिन्दहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिबारे बुझ्दै विदेशी पर्यटकले सौराहाको होटेल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् ।

सपना भिलेजका प्रबन्ध-निर्देशक ध्रुव गिरी, बुबा ८६ वर्षीय मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएका हुन् । उनीहरूसँगै क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्वअध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।

नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेबिट राइट यसपटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुसी देखिन्थे ।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थे । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताए । चितवनको सौराहामा यतिवेला पर्यटकीय मौसम सुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटेलले दशैं मनाउने परम्परा बनाएका छन् ।  

सौराहामा यतिवेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको संख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चंगाचेटमा उनीहरू रमाउने गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस