थिमिमा कुभिण्डेजात्रा मनाइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

थिमिमा कुभिण्डेजात्रा मनाइयो


८ कार्तिक २०८०, बुधबार


भक्तपुर । मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ ।

नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो ।

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो ।

आज एकादशीका दिन तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुखुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके र राजोपाध्यायसहितको संलग्नतामा जात्रा निकाल्ने गरिन्छ ।

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले काटेका थिए ।

कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुख शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहि आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस