चाडपर्वमा हुन सक्ने गाडी दुर्घटना रोक्न चेकजाँच तीव्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चाडपर्वमा हुन सक्ने गाडी दुर्घटना रोक्न चेकजाँच तीव्र


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित गाडी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको छ ।

दाङ बाहिरिने तथा भित्रिने र विभिन्न स्थानीय रुटमा चल्ने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्याक्टर रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

तीव्र गतिमा गाडी चलाउनेलाई टाढैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ ।

प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले गाडी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ ।

तीव्र गतिमा गाडी चलाउनेलाई ठाउँको ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

तीव्र गति र मादक पदार्थ सेवनका कारण गाडी दुर्घटना हुनसक्ने भएकाले मापसे नगर्न, तीव्र गतिमा गाडी नचलाउन र क्षमता भन्दा बढी सामान गाडीमा नराख्न भन्दै
चालकलाई सम्झाउने गरेको जिल्ला ट्राफिक प्रमुख किरण प्रकाश मल्लले जानकारी दिए।

तीव्र गति र ओभरटेकलाई ट्राफिक प्रहरीले सबैभन्दा बढी दुर्घटनाको कारण मानेको छ ।

नेपालीहरूको महान् पर्व बडादसैँको समयमा सपरिवार बसेर रमाइलो मनाउने बेला सामान्य हेलचेक्य्राइँले अप्रिय घटना हुँदा त्यसलै सबैलाई पीडाबोध हुने भन्दै दुर्घटना

न्यूनीकरणका लागि सचेतना अभियान चलाएको प्रमुख मल्लले जानकारी दिए ।

एक हप्तादेखि दाङका प्रमुख सहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ, अमिलिया, गढवा लगायतका स्थानमा राडर गन सहित ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ ।

सडकको छेउमा वा घरको छतमा राखेर गाडी कुन गतिमा गुडेको छ भनेर राडर गनले परैबाट पत्ता लगाउने गर्छ ।

ट्राफिक प्रहरीले सोमवार तुलसीपुर बजारमा पैदलयात्रुका लागि बाटो काट्न जेब्राक्रसिङ निर्माण, अटो व्यवस्थापनका लागि चालकसँग छलफल गरेको छ ।

त्यस्तै गोठीखोला र सात तलेमा पुगेर गाडी चेकजाँच गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र चन्दले जानकारी दिए ।

ट्राफिक प्रहरीले बिहान, दिउँसो र साँझपख गाडी चेकजाँच गर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस