इजरायल-हमास युद्ध : मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्र प्रवेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इजरायल-हमास युद्ध : मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्र प्रवेश


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । इजरायल-हमास युद्ध सुरु भएपछि पहिलो पटक आपत्कालीन मानवीय सहायता सामाग्रीहरू बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश गरेका छन् ।

रोयटर्स, बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सेतो झण्डासहितका संयुक्त राष्ट्रका गाडीहरू इजिप्टबाट गाजातर्फ क्रसिङ हुँदै गइरहेको देखाइरहेका छन् ।

रातभरको इजरायली हवाई हमलापछि गाजामा पहिलो आपतकालीन सहायता ट्रकहरू शनिबार पुगेका हुन् । इजरायलद्वारा पूर्ण घेराबन्दी भएको १२ औँ दिनमा पहिलो सहायता पुगेको रोयटर्सले जनाएको छ ।

इजरायली बमबारीले दर्जनौँ प्यालेस्टाइनीको मृत्यु भएपछि बल्ल पहिलो खेपको मानवीय सहायता पुगेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजिप्टसँग गाजाको रफाह सीमा बिन्दुबाट २० वटा सहायता ट्रकहरूका लागि सम्झौता गरेको र पहिलो ट्रकहरू ४८ घण्टा भित्र पास हुने शुक्रबार बताएका थिए ।

प्यालेस्टिनी अधिकारीहरूले इन्धन आपूर्तिहरू मानवीय सहायतामा समावेश नगरेकोमा चिन्ता प्रकट गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेको दुई साता नाघिसकेको छ । गाजामा त्यसयता ४,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत दुई हप्तामा ४ हजार ३ सय ८५ जनाको ज्यान गएको र संयुक्त राष्ट्रसंघले आफ्नो एजेन्सीका १७ कर्मचारी मारिएको जनाएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा करिब १,४०० जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस