काठमाडौँ । चिडियाखानामा सटल बसको व्यवस्था गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानामा बालबालिका र वृद्ध वृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने तयारी गरिएको बताएका हुन् ।
शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा उनले जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्ट आफूले बन्द गराएको बताए । कन्सर्ट बन्द गरिँदा चिडियाखानाका वन्यजन्तु आरामसाथ निदाउन पाएको उनको दाबी छ ।
“यसपटक चिडियाखानामा बालबालिका, वृद्ध वृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि, जावलाखेलको चिडियाघरभन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो मध्यरातसम्म, बाघभालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ, मैले त्यो बन्द गरिदिएँ,” उनले भने, “अहिले बाघभालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।”