कृषिमन्त्री भुसालको दाबी अब हलो, कुटो-कोदालोबाट खेती गर्ने दिन गए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कृषिमन्त्री भुसालको दाबी अब हलो, कुटो-कोदालोबाट खेती गर्ने दिन गए


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताएका छन्।

बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुर्‍याएर खेती गर्न प्रोत्साहन गर्दै अघि बढेको सरकारले धान, मकै, गहुँ, तोरी, तरकारी सबैको उत्पादन बढाउने गरी काम गरिरहेको मन्त्री भुसालले बताएका हुन्।

दाङको लमहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोनले सञ्चालन गरेको कार्यक्रमको अनुगमन गर्दै उनले उत्पादन बढाउन कृषि क्षेत्रलाई पूर्ण यान्त्रीकरण गरिने बताए।

‘अब हलो, कुटो–कोदालोबाट खेती सम्भव छैन। जाने भनेकै यान्त्रीकरणमा हो’, मन्त्री भुसालले भने, ‘सरकारले पूर्ण यान्त्रीकरणको लागी कार्यक्रम सञ्चालन गरिरहेको छ।’

मन्त्री भुसालले बाँझो जमिनलाई खेतीयोग्य बनाउन सिँचाइ सुविधा पुर्‍याउने कार्यक्रम पनि अघि बढाइएको बताएका छन्। यस्तै, किसानले राखेको अनुदानको रासायनिक मल समयमै नआएको गुनासोलाई सम्बोधन गर्दै उनले बिस्तारै रासायनिक मलको समस्या समाधान हुँदै गएको बताए।

‘अनुदानको रासायनिक मलको समस्या समाधान हुँदै गएको छ। सरकारले मल ल्याएकै छ। तर, वितरणमा स्थानीय स्तरमा केही समस्या देखिएका छन्’, उनले भने, ‘मलमा सहजता ल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ।’

यस्तै, मन्त्री भुसालले लमही नगरपालिकाले बनाउन थालेको तरकारी सङ्कलन केन्द्र र चिस्यान केन्द्रको शिलान्यास गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस