चिनी अभावमा औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिनी अभावमा औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित


१ कार्तिक २०८०, बुधबार


विराटनगर । बजारमा चिनी पर्याप्त रूपमा उपलब्ध नहुँदा समस्या परेको छ । मुख्य चाडपर्व सुरु भइसकेको छ । पर्वका बेला अरु बेलाभन्दा बढी चिनी खपत हुने गरेको छ ।

सहज रूपमा सहुलियत दरमा चिनी नपाउँदा सामान्य उपभोक्ता प्रभावित बनेका छन् । यसबाहेक सुनसरी–मोरङ औद्योगिक क्षेत्रका बिस्कुट, चकलेट लगायत उद्योग पनि प्रभावित बनेका छन् ।

स्थानीय उत्पादनले नपुग्ने, सरकारले पर्याप्त आयात गर्न नसकेको अवस्था एवं निजी क्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा चिनी अभावको अवस्था रहेको उद्योगीहरूको भनाइ छ ।

यसले गर्दा उल्लेख्य परिणाममा चिनी खपत हुने चकलेट, बिस्कुट जस्ता उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा पर्वका बेला चिनी पर्याप्त रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताका साथै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू पनि प्रभावित बताएको बताउँछन् ।

भारतीय बजारमा चिनीको मूल्य ६७ रुपैयाँ छ । नेपाली बजारमा सामान्यतया किलोको १२५ सम्म पर्छ ।

पर्वका बेला बढी खपत हुने वस्तुहरू उत्पादन गर्ने उद्योगहरू पर्याप्त चिनी नपाउँदा समस्यामा परेको उद्योगीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतका अनुसार बजारको माग ख्याल गर्दै सरकारले बेलैमा चिनी आयात गरेको भए उपभोक्ता र औद्योगिक क्षेत्रलाई सहज हुने बताउँछन् ।

स्थानीय उत्पादनले नपुग्ने भएकाले आयातमै भर पर्नुपर्ने अवस्था हुँदा मुख्य चाडपर्वलाई लक्षित गरी एवं औद्योगिक क्षेत्रको मागलाई ध्यान दिँदै पर्याप्त रूपमा चिनी आयात गरिनुपर्नेमा त्यसो हुन नसहेको राउतको भनाइ छ ।

बिस्कुट, चकलेट, डेरी उत्पादन, मिठाइ जस्ता वस्तु उत्पादन गर्ने उद्योगहरूले क्षमताको आधा मात्र उत्पादन गर्न सकेको जनाइएको छ ।

उद्योगी एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुका अनुसार समयमा सरकारले चिनी आयात गर्न नसक्दा उद्योगहरूले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् ।

उनका अनुसार कच्चा पदार्थका रूपमा चिनी समेत प्रयोग गर्दै आएका उद्योगहरूले हाल क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस