मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ : कमल थापा  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ : कमल थापा 


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारप्रति जनताको असन्तुष्टि हटाउन एवं विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राखेका छन् । 

सत्ताको फोहरी प्रतिस्पर्धाबाट अलग रही राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापनाको लागि जनआन्दोलन आवश्यक रहेको अध्यक्ष थापाले बताए । यसका लागि समान विचारधारा भएका राप्रपालाई एकतामा आउन आह्वान पनि उनले गरे ।

मुलुकमा जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल लाग्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष थापाले सरकारले मुलुकमा धर्म परिवर्तन र गौ हत्या जस्ता कार्य अविलम्ब रोक्नुपर्नेमा जोड दिए ।

उनले नेपालको परराष्ट्र नीति असंलग्न हुनुपर्ने बताउँदै छिमेकी मुलुकसँगको सम्बन्ध बराबर हैसियतका आधारमा हुनु आवश्यक रहेको विचार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस