अर्थमन्त्री डा. महत स्वदेश फिर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री डा. महत स्वदेश फिर्ता


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा मोरोक्कोको माराकेश गएको नेपाली प्रतिनिधिमण्डल टोली आइतबार नेपाल फर्किएको हो ।

अर्थमन्त्री विश्व बैंकको र नेपाल राष्ट्र बैंकका गभर्नर आईएमएफको पदेन गभर्नर रहने व्यवस्था छ । त्यसैगरी अर्थ सचिव विश्व बैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आईएमएफको वैकल्पिक गभर्नर रहने व्यवस्था छ ।

बैठकमा वर्षभरको कार्य सम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल हुन्छ ।

संसार भरबाट अर्थमन्त्रीहरू विश्व बैंकको गभर्नरको हैसियतमा सहभागी हुने यी वार्षिक बैठकहरूको साइडलाइनमा सहभागीबीच सामूहिक तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त हुन्छ ।

नेपाली टोलीले आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटी, कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युंग हो, युरोपियन युनियनका कमिसनर जुट्टा उर्पियालिनेन, आईएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर बो ली, विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विश्व बैंककै विकास वित्त तर्फका उपाध्यक्ष आकिहीको निशिओसँग फरक फरक दिनमा भेटवार्ता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस