उपप्रधानमन्त्री खड्काले पीडितलाई सुनाए मुद्दाको प्रगति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपप्रधानमन्त्री खड्काले पीडितलाई सुनाए मुद्दाको प्रगति


२५ आश्विन २०८०, बिहिबार


कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको बुधवारको दृश्य अलि फरक थियो ।

प्रहरी कार्यालयको ‘कन्ट्रोल रूम’बाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टेलिफोनबाट गुर्भाकोट नगरपालिका-१४ का ३१ वर्षीय अर्जुन पुनविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दा दिने जाहेरवाला आठबीस नगरपालिका-५ सिङ्गासैन दैलेखका ४० वर्षीय मोतिराम पुरीलाई फोन गरी मुद्दाको प्रगतिबारे सुनाए ।

“मातिरामी जी १ म पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री बोल्दैछु । तपाईँले दायर गरेको निवेदनअनुसार प्रतिवादी पक्राउ गरिएको छ । प्रमाण सङ्कलन एवं अनुसन्धानसँगै क्षतिपूर्तिका लागि प्रयास भइरहेको छ”, फोन संवादमा रक्षामन्त्री खड्काले भने, “सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत पीडित सहायता शुभारम्भ गर्ने क्रममा तपाईँसँग कुरा गरिएको हो । आजदेखि तपाईँले दिएको उजुरी प्रहरी स्वयंले हेर्दै जाने र तपाईँको आवश्यकता भएमा प्रहरीले जानकारी दिनेछ । ”

रक्षामन्त्री खड्काले पीडित महिलासँग पनि फोनमार्फत संवाद गर्दै भने, “तपाईँले दिनुभएको बहुविवाहसम्बन्धी मुद्दाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रतिवादीलाई जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई बयान लिइसकिएको छ । प्रहरीले उजुरीका आधारमा आवश्यक प्रमाण सङ्कलन पनि गरिरहेको छ ।” उनले भने, पीडितले आउनुपर्ने भएमा मात्रै प्रहरीले जानकारी गर्ने र हिजोका दिनमा सधैँ आएर कामको प्रगतिका बारेमा जानकारी लिनुपरेकामा आजदेखि त्यो अवस्थाको अन्त्य भएको जानकारी गराए ।

रक्षामन्त्री खड्काकाले सेवाग्राहीलाई बारम्बार प्रहरी कार्यालयमा आउन नपर्ने र अबदेखि प्रहरी आफैले फोन गरेर मुद्दाको काम कारबाही र प्रगतिबारे जानकारी दिने व्यवस्था गरेकाले गरेको बताए । केन्द्र सरकारको सहयोगमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत ट्राफिक नियम पालन, पीडित सहायता कार्यक्रम पनि बुधवार देखी आरम्भ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस