‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’


२५ आश्विन २०८०, बिहिबार


जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ ।

बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो ।

अध्ययनका क्रममा दुई वर्ष खाडीका छ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका आप्रवासी र नेपालमै रहेका नागरिकबीच तुलना गरिएकामा त्यस्तो देखिएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा. निर्मल अर्यालले जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना (सबै पुरुष) र नेपालमै रहेका सात सय २० जना (३७० पुरुष र ३४१ महिला) स्थानीयबीच तुलना गरिएको थियो । मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्त्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा आप्रवासीमा ५ दशमलव ८ प्रतिशत र गैरआप्रवासीमा ३ दशमलव ६ प्रतिशत कमी देखिएको डा. अर्यालले जानकारी दिए ।

‘गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ । त्यसै गरी रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आप्रवासीमा बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्त्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निर्क्योल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिन्छ । यसले पनि आप्रवासीहरूमा बढ्दो मिर्गौला समस्याको सङ्केत गर्दछ’, डा. अर्यालले भने ।

यस्तै मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीमा बढी देखिएको छ । खास गरी गैर आप्रवासी महिलामा यो समस्या बढी देखिएकाले यसको कारकतत्व खोज्न छुट्टै अध्ययन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

त्यसै गरी अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीमा स्थानीय गैरअप्रवासीको तुलनामा उच्च रक्तचाप (आप्रवासी ३८ प्रतिशत, गैर आप्रवासी १९ दशमलव ४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैर आप्रवासी ४ दशमलव ७ प्रतिशत) र बढी तौल वा मोटोपन (आप्रवासी ६७४ प्रतिशत, गैर आप्रवासी ४९ प्रतिशत)को जोखिम निकै बढी रहेको देखिएको छ ।

डा. अर्यालका अनुसार मिर्गौलाको रोगको जोखिम उच्च भएकामा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, आउटडोर, धुलो-धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको छ ।

यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमुना लिइएको र त्यसपछि प्रश्नावली सोधिएको थियो । अनुसन्धान टोलीका अर्का सदस्य एवं मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका प्रमुख डा. श्रवणकुमार मिश्रका अनुसार अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए ।

त्यसै गरी सहभागी आप्रवासीले औसतमा दैनिक १० दशमलव ७ घण्टा काम गर्ने गरेको र ३० दशमलव ९ प्रतिशतले औसतमा महिनाको एक दिन पनि बिदा नलिने गरेको बताएका थिए । यस्तै २४ दशमलव ८ प्रतिशतले शारीरिकरुपले भारी र लगभग आधा सहभागीले ९४४ दशमलव ४ प्रतिशत० गर्मीमा काम गर्नुपरेको, करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताएको डा. मिश्रले जानकारी दिए ।

“आप्रवासी मात्रै होइन उहाँहरूको परिवारका सदस्य (विशेष गरी श्रीमती) मा पनि विभिन्न तनावका कारण धेरै समस्या हुनसक्ने देखिन्छ । यसर्थमा आप्रवासीमा उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकाले ती देशमै यससम्बन्धी सचेतना जगाउन आवश्यक छ । त्यसका लागि नेपाली दूतावास र आप्रवासीको हकहितको लागि काम गर्ने सङ्घसंस्थाले पनि विशेष पहल गर्नुपर्छ”, डा. मिश्रको भनाइ छ ।

बर्नमथ विश्वविद्यालय र ग्रिन तारा नेपाल नामक गैरसरकारी संस्थाले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) र बेलायतकै युनिभर्सिटी कलेज लण्डन (युसिएल) ले सहयोग गरेको जनाइएको छ । यस प्रकारको अध्ययन समुदाय स्तरमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीबीच पहिलो पटक भएको दाबी गरिएको छ ।

अनुसन्धानमा प्रमुख अनुसन्धानकर्ताको रूपमा डा. प्रमोदराज रेग्मी (बर्नमथ विश्वविद्यालय, बेलायत) र उनको टिममा अनुसन्धानकर्ता डा. निर्मल अर्याल, प्रा डा. एडविन भान तेजलिन्जिन, प्रा डा. अरुण सेढाइ, डा. राधेश्यामकृष्ण केसी र डा. श्रवणकुमार मिश्र सहभागी भएको ग्रिन तारा नेपालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस