अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला


२३ आश्विन २०८०, मंगलबार


खोटाङ । जिल्ला प्रशासन कार्यालय दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ ।

दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको हो ।

उक्त डेन्टलले बिना इजाजत न्यूनतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहले जानकारी दिए । गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा गरिएका कारण क्लिनिक सिल गरिएको जनाइएको छ ।

दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो । तेलीलाई दन्त चिकित्सक राखेर डेन्टल चलाउन दिइएको अन्तिम चेतावनी पालना नभएको पाइएकाले सिल गरिएको सहायक प्रजिअ साहको भनाइ छ ।

उक्त क्लिनिकमा बिना स्वीकृति र बिना जनशक्ति दाँतको आरसिटी गर्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको अनुगमन टोलीले जनाउनाका साथै दन्त चिकित्सक नराखेको, डेन्टल एक्स-रे र कुर्सी एकै ठाउँमा राखिएको, डेन्टल चेयर काम नलाग्ने भएको, हात धुने बेसन नभएको, क्लिनिकको भवन मापदण्डअनुसार नभएको पाइएको उल्लेख गरिएको छ ।

तेलीकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिक पनि दर्ता बिना नै सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले गत चैत २३ गते सिल गरेर स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिएको छ ।

फार्मेसी पढेकाले मात्रै औषधि बिक्री गर्न पाइने भए पनि सो मेडिकेयर क्लिनिकमा फर्मासिष्ट वा फार्मेसी सहायकबिना नै औषधि बिक्री वितरण हुँदै आएको पाइएको छ ।

यस्तै न्यू हलेसी मेडिकेयर क्लिनिक एन्ड मन्सुना फार्मेसीले पनि अवैध रूपमा रेबिजविरुद्धको भ्याक्सिन राखेको भेटिएको छ । चिकित्सकको प्रेस्क्रिप्सनबिना चलाउन नपाइने रेबिज भ्याक्सिन डोमेस्टिक फ्रिजमा राखेको पाइएको सहायक प्रजिअ साह बताउछन् ।

फार्मेसी सञ्चालक महेशप्रसाद साहले थाहा नभएर रेबिजविरुद्धको भ्याक्सिन राखेको जवाफ दिएको पनि सोही क्लिनिकमा मुटुको बिरामीले प्रयोग गर्ने औषधिहरु पनि भेटिएको अनुगमन टोलीले जनाएको छ ।

आसन्न चाडबाडलाई लक्ष्य गरेर जिल्ला प्रशासनले आइतबारदेखि जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवम् क्लिनिकहरुमा कडाइका साथ अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु बरामद गर्नाका साथै सञ्चालकलाई सजग गराउने काम भइरहेको अनुगमन टोली संयोजक एवम् सहायक प्रजिअ साहबताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस