काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले कैद मिनाहामा देखिएको कानुनी छिद्र टाल्न सरकारले पहल लिइरहेको बताएका छन् ।
आज आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले यस वर्ष केही अपराधीले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा पाएका बताएका हुन् । उनले आउँदा दिनमा कानुनी छिद्र टाल्ने गरी सरकारले सचेततापूर्वक पहल लिइरहेको बताउनुभयो । सरकारले आफ्नो असावधानीलाई गम्भीर शिक्षाको रूपमा लिनुपर्ने सांसद दाहालको भनाइ छ ।
उनले भने, ‘अपराधीहरू कानुनी छिद्र प्रयोग गरेर निस्किए । यो सार्वजनिक बहसको विषय बनेको छ । आउँदा दिनमा दण्डित हुनुपर्ने अपराधीहरू नछुट्ने परिस्थिति पैदा हुने गरी कानुनी छिद्र टाल्ने गरी सरकारले योबारेमा सचेततापूर्वक पहल लिइरहेको छ । आउँदा दिनमा पीडितहरू थप पीडामा नपर्ने गरी अपराधीहरूलाई माफी नहुने गरी हामी कानुनी छिद्र बन्द गर्छौँ ।’