सुन तस्करी अभियोगमा महराका छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन प्रहरीको राय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी अभियोगमा महराका छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन प्रहरीको राय


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध सङ्गठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको हो । ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् ।

यही कसुरमा एक जना नेपालीलाई फरार सूचीमा राखिएको छ । सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ । 

२०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११।५२४ग्राम सुन भेटिएको थियो ।

भेपका रूपमा ल्याइएको वस्तु शङ्कास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए । महरा बाबुछोराले समेत २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेका थिए । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरेको थियो । गत असार २७ मुद्दा दायर भएपनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस