कैद माफी मिनाहा भएकाको विवरण उपलब्ध गराउन सरकारलाई आयोगको पत्र  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कैद माफी मिनाहा भएकाको विवरण उपलब्ध गराउन सरकारलाई आयोगको पत्र 


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गणतन्त्र दिवस र संविधान दिवसको दिन राष्ट्रपतिबाट माफी मिनाहा भएका व्यक्तिहरूको विस्तृत विवरण उपलब्ध गराउन सरकालाई पत्राचार गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई’ पत्राचार गर्दै माफी मिनाहा भएका व्यक्तिहरूको विस्तृत विवरण आयोगलाई उपलब्ध गराइदिन सम्बन्धित निकायमा निर्देशन दिन अनुरोध गरेका हुन् ।

आयोगको तर्फबाट प्रवक्ता डा. टीकाराम पोखरेले शुक्रवार जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को खण्ड (घ) एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत हुने गरी कैद माफी मिनाहा गरिएको विषयमा आयोगले आज सम्माननीय प्रधानमन्त्रीज्यूलाई पत्राचार गरेको छ ।’

आयोगले राजनीतिक पहुँचकै आधारमा माफी मिनाहा पाउने अवस्थाले न्यायपूर्ण वातावरण सिर्जना हुन नसक्ने, मौलिक हकको रूपमा रहेको अपराध पीडित व्यक्ति वा परिवारको अधिकार कुण्ठित हुने, आपराधिक प्रवृत्ति बढ्दै जाने, दण्डहीनताले प्रश्रय पाउने, सर्वसाधारणमा राज्यप्रति वितृष्णा उत्पन्न भई शासन व्यवस्थामाथि नै प्रश्न खडा हुने र राज्यका निकायहरूप्रति नागरिकको विश्वास खस्कन गई त्यस्ता संस्थाहरू विवादित हुँदै जाने सम्भावना रहने जनाएको छ । ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सो विपरीत सरकारले पछिल्लो पटक संविधान दिवसको दिन २०८० असोज ३ गते नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगल भनिने योगराज ढकाललाई माफी मिनाहा दिएको देखिन्छ ।’ प्रेस नोटमा भनिएको छ, ‘मृतक चेतन मानन्धरलाई घेरा हाली भाग्न उम्कन नदिई समाती रिगल ढकालले खुँडा प्रहार गरी हत्या गरेको’ भनी बाँके जिल्ला अदालतले मिति २०७५/१/११ गते गरेको फैसलामा उल्लेख भएको देखिन्छ । साथै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशको मिति २०७६/१०/२८ को पुनरावेदन फैसलामा पनि ‘रिगल ढकाल समूहको क्रियाकलापको विरोध गरेकै कारण आफ्नो वर्चश्व राख्न विरोधी सिध्याउने पूर्व योजना तयारी साथ मिति २०७२/३/२० गते देखि नै योजनाबद्ध रूपमा तयार रही वारदात घटाएको र वारदातमा खुँडा प्रहार गर्ने रिगल ढकाल भएको मिसिल संलग्न कागजातबाट पुष्टि भएको’ भनी उल्लेख छ ।’ 

सोही फैसलामा प्रतिवदीहरू (रिगल ढकाल समेत) ले पूर्व योजना तयारीका साथ प्रस्तुत वारदात घटाएको अपराधले कानुनी शासनको उपहास भएको र मिसिलबाट खुली देखिन आएको वारदात पिक्चराइजड गर्दा अत्यन्त अमानवीय क्रुर तरिकाले पूर्व मनसाय, तयारीका साथ वारदात घटाएको’ भनी उल्लेख भएको अवस्था स्पष्ट हुँदाहुँदै रिगल ढकाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को खण्ड (घ) विपरीत माफी मिनाहा दिएको पाइएको प्रेस नोटमा उल्लेख छ । ढकाललाई मुलुकी कार्यविधि संहिता ऐन जारी हुनु पूर्व कायम रहेको कारागार नियमावली, २०२० को नियम २९ (१) को आधार लिई माफी दिने कार्य मानव अधिकारको दृष्टिकोणबाट उपयुक्त नदेखिएको आयोगले जनाएको छ । आयोगका अनुसार नेपालको संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४ बमोजिमको पीडितको फौजदारी न्यायिक प्रक्रियामा स्वच्छ र सम्मानजनक व्यवहार पाउने, दफा ५ बमोजिमको कुनै पनि आधारमा विभेदपूर्ण व्यवहार व्यहोर्नु नपर्ने, दफा १० बमोजिमको पीडितले शङ्कास्पद व्यक्ति, अभियुक्त, कसुरदार वा निज सम्बद्ध व्यक्ति समेतको आक्रमणबाट सुरक्षित हुन पाउनेलगायतका अधिकारहरूको उल्लङ्घन  भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस