भारत-पोखरा सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारत-पोखरा सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्।

पोखरामा ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पर्यटन व्यवसायीहरूले राजदूत श्रीवास्तवलाई यस्तो प्रस्ताव राखेका हुन्।

उनीहरूको आग्रहमा राजदूत श्रीवास्तवले सिधा जवाफ भने दिएनन्। भारतीयहरू आफ्नै सवारीसाधनमा आउन चाहने भएकाले सडक राम्रो हुन पर्ने उनले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआइ अन्तर्गत बनेको भनेर चीनले दाबी गरिरहँदा भारतले सिधा उडानको अनुमति दिएको छैन। विमानस्थल सञ्चालनमा आउनुअघि नै बुद्ध एयरले पोखराबाट दिल्ली र बनारस उडानको अनुमति मागे पनि भारतले अहिलेसम्म अनुमति दिएको छैन। राजदूत श्रीवास्तवले आफ्ना नागरिक गाडी लिएर आउन चाहन्छन् भन्दै हवाइ सम्पर्क तत्काल हुन नसक्ने छनक दिएका छन्।

नेपाल र भारतबीच खुला सीमा रहेको र पर्यटक आउजाउ गर्न समस्या नरहेको उनको दाबी छ। विश्वमै नभएको सांस्कृतिक र धार्मिक सम्बन्ध नेपाल र भारतबीच रहेको बताउँदै राजदूत श्रीवास्तवले काठमाडौँभन्दा पहिला भारत पोखरासँग जोडिएको चर्चा गरे।

चीनले पृथ्वी राजमार्ग निर्माण गर्दागर्दै २०२७ सालमा भारतले पोखरा-लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग निर्माण गरिदिएको थियो। उनले सोही प्रसङ्गलाई काठमाडौँभन्दा पहिला भारत मोटरबाटोबाट पोखरा जोडिएको बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस