चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भयो : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भयो : प्रधानमन्त्री ‘प्रचण्ड’


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन्।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताए। उनले भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन्।

राष्ट्रपति सी चिनफिङसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीले बताए। 

भ्रमणका क्रममा नेपाल र चीनबीच विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना-साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल र चीन बीच सबै नाकाहरू खुलेपछि व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने बताए। अघिल्लो पटक ल्हासा भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए।

कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्त्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्त्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस