‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको ध्यानाकर्षण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको ध्यानाकर्षण


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले ‘ई’ले धर्ना दिइरहेको स्थानको अनुगमन गर्नुका साथै उनीसँग छलफल समेत गरेको एक प्रेस विज्ञप्ति जारी गर्दै बताइएको छ । आयोगका अनुसार अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको थियो ।

आयोगका अनुसार ‘ई’ रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना दिइरहेकाले दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम देखा परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनमा देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार काठमाडौँ महानगरपालिकाले भने ‘ई’ को विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीलेगरेका छन् । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको पनि बताएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय समेत हो । ‘नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ, ’विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ । अतः धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस