सरकारले गर्‍यो डा. गौरीशङ्कर लाल दासलाई सम्मान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले गर्‍यो डा. गौरीशङ्कर लाल दासलाई सम्मान


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्‍याएका डा. गौरीशङ्कर लाल दासलाई सरकारले सम्मान गरेको छ ।

आज मङ्गलवार सय वर्ष पुगेका दासलाई काठमाडौँ महानगरपालिका र मूल समारोह समितिले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मान पत्र तथा दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), पूर्वमन्त्री, सांसद, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीलगायतले शताब्दी पुगेको अवसरमा दासलाई अभिनन्दन गरे ।

डा. दासलाई सय वर्ष पुगेको अवसरमा नागरिक स्तरबाट दिव्य शताब्दी पुरुषको मानार्थ दिइएको छ । नेपालको चिकित्सा सेवा, मानव अधिकार, समाज सेवा, व्यवस्थापन र सुशासनको क्षेत्रमा उनको योगदान अतुलनीय छ । एक सय वर्षमा पनि उनी उत्तिकै सक्रिय हुनुहुन्छ । अहिले पनि उहाँ विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने गरेका छन् । डा. गौरीशङ्कर लाल दासको जन्म सन् १९२४ सेप्टेम्बर २६ तारिखमा सिरहाको इनरुवामा भएको हो । उनले गरिब तथा विपन्न नागरिकलाई निःशुल्क उपचार गरिदिने गरेका थिए ।

डा. दासले भारतमा पढेका थिए । विसं २००७ मा एमबीबीएस सकेपछि उनले बेलायत गएर क्षयरोग र ट्रपिकल मेडिसिनमा डिप्लोमा गरे। विसं २००९ मा नेपाल आएर उनले वीर अस्पतालमा काम थाले । उनले २०५७ सालदेखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरे।

काठमाडौँको चाबहिल बस्ने डा. गौरीशङ्कर लाल दास समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उनले शताब्दी जन्मोत्सवका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने जनाइसकेको छ । डा. दास त्रिशक्तिपट, गोरखा दक्षिणबाहु, प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु लगायतबाट सम्मानित भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस