‘दिव्य शताब्दी पुरुष’ डा.लाल दासलाई नागरिक अभिनन्दन गरिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘दिव्य शताब्दी पुरुष’ डा.लाल दासलाई नागरिक अभिनन्दन गरिँदै


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदै छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्‍याएको जनाउँदै उनलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार आज दिउँसो २:३० बजे राष्ट्रियसभा गृहमा आयोजना हुने समारोहमा डा दासलाई अभिनन्दन गरिने छ । समाजसेवी डा. दासलाई नागरिकका तर्फबाट कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिका कोषाध्यक्ष मोहनमणि आचार्यका अनुसार नागरिकस्तरबाटै दिव्य पुरुष घोषणा गरिसकिएको हुनाले नागरिक अभिनन्दन गर्न लागिएको हो । सोही अवसरमा डा दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको सँगालो पुस्तक पनि विमोचन गर्ने कार्यक्रम छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन् । विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान गरी सेवा निवृत्त भएपछि पनि उनी अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रियरूपमा सामाजिक अभियन्ताका रूपमा सेवामा समर्पित छन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए । उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस