फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन् । विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए ।

“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन । कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उनले भने । उनले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन फार्मसिष्ट आग्रह गरे ।

“केही फार्मेसी ले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । चिकित्सकको सिफारिस बिना लागुऔषध पनि वितरण भइरहेको छ । यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ”, उनले भने ।

उनले फार्मेसीको सङ्ख्या अनुसार फार्मसिष्ट परिचालन नभएको बताए । कार्यक्रममा मन्त्री बस्नेतलाई सङ्घले फार्मेसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो । सङ्घका उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे ।

फार्मासिष्टहरुले गैरफार्मसी व्यक्तिले औषधि पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्याङ्कनको अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको बताए।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको बताए । उनले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्ने बताए । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिए ।

प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ । यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ । नेपालमा छ हजार फार्मासिष्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिष्ट छन् ।प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ । यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ । नेपालमा छ हजार फार्मासिष्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिष्ट छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस