सङ्घीयता कार्यान्वयन गर्न दाहाल, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सङ्घीयता कार्यान्वयन गर्न दाहाल, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल


८ आश्विन २०८०, सोमबार


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता मजबुत पारेर देश बदल्न अब शासकहरूले कन्जुस्याइँ गर्न नहुने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले शासकको कन्जुस्याइँले स्थानीय तह र प्रदेशहरू पाएको अधिकारबाट पनि वञ्चित रहेको बताए ।

उनले भने, ‘सङ्घीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ भएको छ । अब दिल खोलेर अधिकार दिनुपर्छ । अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन ।’

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले संविधानले प्रदेशलाई दिएको अधिकार समेत नपाएको र सोही कारण सङ्घीयता खतरामा परेको राष्ट्रपति पौडेलसँग गुनासो गरेका थिए ।

उनले राष्ट्रपति पौडेललाई भने, ‘देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि नै तपाई राष्ट्रपति बन्नु भो । म मुख्यमन्त्री बनेको छु । तर सङ्घीयता कार्यान्वयन नभएपछि जनता निराश भएको छ ।’

निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्न समेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास दिलाए । राष्ट्रपति पौडेलले प्रचण्ड, केपी ओली र शेरबहादुर देउवालाई बोलाएर स्थानीय तह र प्रदेशलाई अधिकार दिनेबारे सम्झाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘खासगरी देशका तीन जना मुख्य शासकहरू ‘प्रचण्ड’, ओली र शेरबहादुर देउवा ज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याइँ नगर्नुस् । तीन जना चाहनुहुन्छ भने देश बदलिन्छ । सङ्घीयता बलियो हुन्छ । म तीनै जनालाई बोलाएर सम्झाउँछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस