साफ यू-१९ फुटबल : मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

साफ यू-१९ फुटबल : मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा


८ आश्विन २०८०, सोमबार


काठमाडौँ। मालदिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले मालदिभ्सलाई ३–१ ले हरायो ।

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।

प्रशान्तले १६औँ मिनेटमा गरेको लङ रेन्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो ।

यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

तर ५७ औँ मिनेटमा मालदिभ्सले १ गोल फर्कायो ।

८८औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३–१ ले जिताए ।

खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौँ मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोस्टबाट बाहिरियो ।

त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोस्ट माथिबाट बाहिरियो ।

नेपालले पहिलो गोल गरेपछि मालदिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डङ्गोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे ।

अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।

त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

रातो कार्ड पाएपछि सुजन रुँदै मैदानबाट बाहिरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस