सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का


८ आश्विन २०८०, सोमबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति प्रधानमन्त्री पूर्णबहादुर खड्काले सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताएका छन् ।

उनले नेपाल शिक्षक महासङ्घको आन्दोलनपछि शिक्षकहरूको हक अधिकार सुनिश्चित हुने गरी विधेयकमा प्रावधान गर्ने विषयमा धेरै हदसम्म सहमति भइसकेको र अझैपनि केही शिक्षकहरू आन्दोलनमा रहेकोमा विधेयकमा अधिकतम सर्वस्वीकार्यता खोजिने बताए ।

उपप्रधान एवम् रक्षा मन्त्रीसमेत रहेका खड्काले गत बिहीबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री खड्काले सरकारले शिक्षक महासङ्घको चाहनाबमोजिम नै सहमति गरेर अघि बढेको दाबी गरे । ‘शिक्षकहरू सबैको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घ हो । महासङ्घसँग सरकारले विधेयकको मस्यौदा बनाउने चरणदेखि नै वार्ता गरेर अघि बढेको हो । तथापि केही असमझदारीहरूका कारण आन्दोलन भयो । फेरि सरकारले महासङ्घकै चाहनाबमोजिम छलफल गरेर सहमति भएको हो,’ उनले भने, ‘त्यसैमा सबै शिक्षकहरूको माग सम्बोधन भएको छ ।’

उनले अहिले राहत शिक्षकहरूसहितले आन्दोलन जारी राखेकोमा सरकारले सबै शिक्षकहरूको अधिकार सुनिश्चित गर्नका लागि पहल गर्ने बताए ।

‘उहाँहरू भेट्न आउनुभएको छ । उहाँका कुराहरू सुनेको छ । र मैले उहाँहरूलाई सकारात्मक सन्देश दिएर पठाएको छु । सरकारले त्यसका लागि सबै खालको पहल गर्छ,’ उनले भने, ‘सकेसम्म सबै शिक्षकहरूका मागहरूलाई समेटेर सरकार र संसद्ले विधेयकलाई अन्तिम रूप दिनुपर्नेछ ।’

उनले शिक्षकका कतिपय मागहरू विधेयकमार्फत नभएर अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र सरकारले निर्णय गरेर सम्बोधन गर्न सकिने प्रकृतिका रहेको भन्दै त्यसका लागि समेत प्रयत्न गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस