शिक्षक आन्दोलनमा एमालेनिकट विद्यार्थी सङ्गठनको समर्थन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षक आन्दोलनमा एमालेनिकट विद्यार्थी सङ्गठनको समर्थन


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले शिक्षक आन्दोलनको समर्थन गरेको छ ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘विद्यालय शिक्षा विधेयक २०८०’सरकारले सरोकारवालाहरूसँग परामर्श नगरी विभिन्न स्वार्थ समूहहरूको प्रभावमा परेर नेपालको सार्वजनिक शिक्षालाई ध्वस्त पार्न एकपक्षीय ढङ्गले संसदमा दर्ता गराएको अनेरास्ववियुको आरोप छ ।

‘विद्यालय शिक्षा विधेयक २०८०’मा थुप्रै संशोधन गर्नु पर्ने विषयहरू भएकोमा त्यस तर्फ अनेरास्ववियुले वृहत अध्ययन, अनुसन्धान र बहुपक्षीय छलफल पश्चात् विधेयकमा संशोधन गर्नु पर्ने विषयहरू आधिकारिक रूपमा सार्वजनिक गर्ने अनेरास्ववियुले जनाएको छ ।

सरोकारवाला पक्षको रूपमा रहेका शिक्षकहरू नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विधेयकका केही प्रावधानहरूमा असहमति जनाउँदै आन्दोलनरत रहेकोमा शिक्षक महासङ्घले अगाडि सारेका जायज मागहरू प्रति अनेरास्ववियुको नैतिक समर्थन रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्तिमार्फत बताएका छन् ।

‘सरकारको अक्रमन्यताले गर्दा यस आन्दोलनले सार्वजनिक विद्यालयहरूको पठनपाठन अवरुद्ध भएको र विद्यार्थीहरूको नियमित पठनपाठनको अधिकार कुण्ठित समेत भएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण समेत भएको छ । ’विज्ञप्तिमा भनिएको छ ।

‘विद्यालय शिक्षा विधेयक २०८०’ नेपालको शिक्षा प्रणालीको लागि दीर्घकालीन महत्वको विषय भएको हुनाले बहुपक्षीय छलफल तथा परामर्श गरी समाधान निकाल्ने तर्फ प्रक्रिया अगाडि बढाउन र आन्दोलनरत शिक्षकहरूको जायज मागहरू सम्बोधन गरी पठन पाठन सुचारु गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु सरकार समक्ष माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस