सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुँदै


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुँदैछ।

बिहीबारको वार्ताले निकास दिन नसकेपछि आज बिहान ८ बजे पुन: वार्ता हुन लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको हो। ‘हिजो सकारात्मक छलफल भएको छ। बिहानको भन्दा बेलुको बुँदागत रुपमा छलफल भएको छ। उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ। शुक्रबार बसेर टुंगोमा पुग्ने सहमति भएको छ,’ उनले भने।

बिहीबार वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा.प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र मन्त्रालयका सचिवहरु सहभागी थिए।

त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु सहभागी थिए। शिक्षकहरुको सबै माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएपछि बिहानको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन।

सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु आन्दोलनमा छन्। उनीहरु काठमाडौँ आएर आन्दोलन गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस