कानून पढाउने चक्रवर्ती कलेज विश्वविद्यालयको कारबाहीमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कानून पढाउने चक्रवर्ती कलेज विश्वविद्यालयको कारबाहीमा


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । कानून अध्यापन गराउन पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति पाएको काठमाडौँको बिजुलीबजार स्थित चक्रवर्ति हवि एकेडेमीलाई विश्वविद्यालयले कारबाही गरेको भेटिएको छ ।

एक वर्षमा एक सयजना विद्यार्थीलाई भर्ना गर्ने अनुमति पाएको चक्रवर्ती कलेजले तीन सय जनासम्म विद्यार्थी भर्ना गरी लाखौँ रकम उठाएपछि पूर्वाञ्चल विश्वविद्यालयले यस वर्षको भर्ना प्रक्रियालाई स्थगन गरिदिएको हो ।

कलेजका प्रिन्सिपल देवेन्द्रबहादुर भण्डारीले हरेक वर्ष एक सय जना विद्यार्थी पढाउने कोटा पाएपनि कोटाभन्दा माथि गई भर्ना लिने क्रम नरोकिएपछि कारबाही गरिएको विश्वविद्यालयले बताएको छ । साथै कलेजका सञ्चालक तथा क्याम्पस प्रमुखले विश्वविद्यालयको हित र पठनपाठनलाई निष्कलङ्क राख्न नसकेको भन्दै सचेतसमेत गराएको छ ।

विश्वविद्यालयले सार्वजनिक सूचना जारी गरी यस वर्षको बीए एलएलबीको भर्ना प्रक्रियामा विश्वविद्यालयबाट दिइएको कोटाभन्दा बढी भर्ना गरेका कारण चक्रवर्ती कलेजलाई कारबाही गरी रोकेको छ । विश्वविद्यालयका एक पदाधिकारीका अनुसार चक्रवर्ती कलेजका प्रमुख देवेन्द्रबहादुर भण्डारीले लाखौँ रकम लिएर कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्ने अनि विश्वविद्यालयले प्रक्रियामा प्रश्न उठाएपछि अदालतमा पुगेर अन्तरिम आदेश लिने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस