विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको बताए ।

कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने उल्लेख गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको र अब त्यसको नियमनका लागि विशेष पहल गर्ने बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीको माथिल्लो तहमा केही समस्या देखिएकाले त्यसलाई सच्याएर जानुको विकल्प नभएको बताए ।

महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए । प्रधानमन्त्री ‘प्रचण्ड’ले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस