शङ्कर पोखरेलद्वारा चीनको नयाँ नक्साबारे सीपीसीको ध्यानाकर्षण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शङ्कर पोखरेलद्वारा चीनको नयाँ नक्साबारे सीपीसीको ध्यानाकर्षण


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । चीन भ्रमणमा रहेका एमाले महासचिव शङ्कर पोखरेलले नेपालले जारी गरेको नयाँ नक्सामा चीनले पनि साथ दिनुपर्ने बताएका छन् ।

चीनले हालै जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नदेखाएको प्रसङ्ग उल्लेख गर्दै उनले यो विषयमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको ध्यानाकर्षण गराएका हुन् । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको थियो ।

‘१८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्‌बाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौँ । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोहीअनुसार चीनको पनि साथ चाहन्छौँ, चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको साथ चाहन्छौँ,’ महासचिव पोखरेलको भनाइ छ । ‘हामी एक चीनको पक्षमा दृढ छौँ । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौँ ।’

महासचिव पोखरेलले नेकपा (एमाले) असंलग्न परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिन्फिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको उल्लेख गरेका छन् ।

सीपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको एकता घनिष्ठ र सुमधुर छ । यसलाई हामी नयाँ उचाइमा लैजान चाहेको उल्लेख गरेका थिए ।

उनले नेपाल चीनको राम्रो मित्रशक्ति रहेको र एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताएका थिए । दुई पार्टीका उच्चस्तरीय नेताहरूको भ्रमणलाई अझ बढाउने पनि उनले उल्लेख गरे ।

महासचिव पोखरलेको भ्रमण दल सोमबार छिन्हाई सहर जानेछ । महासचिवसँगै विदेश विभाग प्रमुख पनि जानेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस