डेडिकेटेड फिडर र ट्रंकलाइनको अध्ययन नसकिएसम्म लाइन नकाट्न निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डेडिकेटेड फिडर र ट्रंकलाइनको अध्ययन नसकिएसम्म लाइन नकाट्न निर्देशन


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् ।

उनले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र  ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो ।

महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।

कोभिड–१९ महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्सायी हुने महासङ्घको धारणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस