सहकर्मीसँग कार्यकक्षमै अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईको इन्टेग्रीटी अवार्ड रद्द « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सहकर्मीसँग कार्यकक्षमै अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईको इन्टेग्रीटी अवार्ड रद्द


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । कार्यकक्षमै अनैतिक क्रियाकलाप गर्ने माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी अवार्ड रद्द गरिएको छ । राष्ट्रसेवक कर्मचारीहरूलाई हौसला प्रदान गर्न अवार्डको आयोजना गर्दै आएको एकाउन्टबिलिटी ल्याब नेपालले एक विज्ञप्ति जारी गर्दै राईलाई प्रदान गरिएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरेको हो ।

गलत आचरण देखिने दृश्य सामाग्री सार्वजनिक पछि सत्य तथ्य खुलाई पठाउन गरिएको पत्राचारको जवाफमा ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु, समग्र आईकन परिवारलाई पर्न गएको क्षतिका लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्था मार्फत हुने निर्णय मान्य छ’ भनेर पठाएसँगै उनको अवार्ड रद्द गर्ने निर्णय गरेको आयोजक संस्थाले जनाएको छ ।

‘प्राप्त जानकारी, सूचना र इन्टेग्रीटी आईकन नेपालले तय गरेको मापदण्डको आधारमा राईलाई अवार्ड गरिएको जनाउँदै तत् पश्चात् उनले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो असल आचरण र कुशल कार्यशैलीले अरूलाई पनि प्रेरित गर्नुहुनेछ भन्ने विश्वास थियो, तर समाचारहरूमा देखिएको अमर्यादित कार्यले हामीलाई स्तब्ध बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृत (महिला कर्मचारी) बिचको अनैतिक क्रियाकलापको भिडियो केही दिन अघि भाइरल भएको थियो ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गरेसँगै प्रमुख प्रशासकीय अधिकृत अँगालो हाल्दै संवेदनशील अङ्गमा छुने, चुम्बन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ भने महिलाले पनि राईको गाला सुम्सुम्याउदै हात मुसारेको देखिन्छ ।

कार्यकक्षमै गरिएको यौनजन्य भिडियो सार्वजनिक भएसँगै कर्मचारीको चर्को आलोचना भइरहेको छ भने अहिले उक्त भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस