नेपालको शान्ति प्रक्रियामा अमेरिकाको चासो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालको शान्ति प्रक्रियामा अमेरिकाको चासो


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रियालाई लिएर चासो व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ महासभामा भाग लिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणको मुखैमा अमेरिकाले शान्ति प्रक्रियाका बाँकी कामबारे चासो लिएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ यूएन महासभामा भाग लिन आगामी २९ भदौमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

त्यसको दुई हप्ताअघि नेपालको तीन दिने भ्रमणमा आएका अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले राजनीतिक दलका शीर्ष नेताहरू सँगको भेटका क्रममा यी विषयमा चासो राखेका हुन् ।

शुक्रबार नेपाल आइपुगेका सिनेटर होलेनले सोही दिन प्रधानमन्त्री ‘प्रचण्ड’बाट सुरु गरेर आइतबार संसदको प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर टुङ्ग्याएका छन् ।

प्रधानमन्त्री, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र विभिन्न राजनीतिक दलका युवा सांसदहरूसँग भेट गरेका होलेनले नेपालमा एमसीसीको सफल कार्यान्वयन र शान्ति प्रक्रियाको विषयमा चासो राखेका थिए । तर एमाले अध्यक्ष ओलीसँगको भेटमा भएको छलफल मात्रै सार्वजनिक गरिएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नै सिनेटर होलेनले यस विषयमा चासो राखेका थिए । प्रधानमन्त्रीले पनि छलफलका क्रममा शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका थिए ।

प्रचण्डले शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउने विषयलाई आफूले प्राथमिकता दिइरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि यसमा सहयोग गर्नुपर्ने बताएका थिए ।

होलेनले भेटका क्रममा शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउँदा मानवअधिकार उल्लङ्घनका गम्भीर घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस