गाँजाखेती वैध बनाउन कृषि समिति तयार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाँजाखेती वैध बनाउन कृषि समिति तयार


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू गाँजाखेतीलाई वैध बनाउनुपर्नेमा एकमत देखिएका छन् । यसका लागि सरकारसँग छलफल गर्ने समितिको तयारी छ ।

सरकारले चालुआर्थिक वर्षको बजेटमा गाँजाखेतीबारे अध्ययन गर्ने उल्लेख गरेको छ । उक्त नीति कार्यान्वयनको अवस्था कस्तो छ भनेर अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढ्ने समिति सभापति डा. आरजु राणा देउवाले प्रस्ताव गरेकी छन् ।

‘गाँजाखेतीको विषयमा बजेटमा पस्यो । त्यसलाई अगाडि बढाउने विषयमा के भइराखेको छ अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढौँ’, आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति डा. देउवाले प्रस्ताव गरिन् ।

उनी भन्दा पहिले बोल्ने सांसदहरुले गाँजाखेतीको सम्बन्धमा नीतिगत व्यवस्था के गर्न सकिन्छ भनेर समितिले पहल लिनुपर्ने बताएका थिए । जवाफमा सभापति देउवाले सरकारको नीति कार्यान्वयनको अवस्था बुझेर अगाडि बढ्नु उपयुक्त हुने बताएकी हुन् ।

आर्थिक वर्ष २०८०-८१ को बजेटमा गाँजा खेतीबारे सम्भाव्यता अध्ययन गर्न बजेट नै छुट्याइएको छ । गाँजाखेतीमा लगाइएको प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिनुपर्ने र नेपाली गाँजालाई अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने समिति सदस्यहरूको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस