काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने चन्दको भनाइ थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका चन्दले भ्रष्टाचारी जोसुकै भएपनि छुट दिन आवश्यक नभएको बताए । उनले आफ्नै पार्टीका नेता भ्रष्टाचार र मानव बेचबिखनमा संलग्न रहेको पाइए पनि कारबाही गर्न आग्रह गरेका थिए । ‘तपाईँ प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौँ, ‘उनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’
भ्रष्टाचारी आफ्नै पार्टीका भएपनि कारबाही गर्नैपर्ने चन्दको भनाइ थियो । उनले मानव तस्करीलाई पनि कारबाही गर्नुपर्ने बताए । वर्तमान सरकार बनेपछि भ्रष्टाचारी र मानव तस्करलाई कारबाही भएको चन्दको भनाइ थियो ।
चन्दले प्रधानमन्त्री दाहालविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो ।