निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्यता छायो : शेखर कोइराला « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्यता छायो : शेखर कोइराला


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्यता छाएको बताएका छन्।

नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औँ पुण्यतिथिका अवसरमा नेपाली काँग्रेस मोरङले आज आयोजना गरेको कार्यक्रममा उनले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित हुँदा जनतामा निराशा छाएको बताए।

सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको भन्दै नेता कोइरालाले नेपालका सबै पार्टीका नेताले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको बताए।

राजनीति पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए।

“राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ। पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइगयो नि,” उनले भने, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ। पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरण आएका छन्।”

स्व न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको र आफूले पटक पटक भेट्दा पनि न्यौपानेले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गरे।

Tags :
प्रतिक्रिया दिनुहोस