पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न स्वीडिस सांसदसँग कार्यकारी प्रमुख रेग्मीको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न स्वीडिस सांसदसँग कार्यकारी प्रमुख रेग्मीको आग्रह


११ भाद्र २०८०, सोमबार


काठमाडौँ। नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरूसँग आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरूको टोलीसँग बोर्डमा आयोजित भेटमा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको भन्दै सहकार्यका लागि आग्रह गरेका हुन् ।

उनले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेको बताए । उनले त्यसबारे पहल गरिदिन सांसदहरुलाई आग्रह गरे ।

धेरै युरोपियन नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहने भन्दै उनले सिधा हवाई सम्पर्कको अभावका कारण त्यो हुन नसकेको बताए ।

हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्दर्भमा युरोपियन आकाशको प्रतिबन्ध हटाउन भूमिका खेल्न समेत आग्रह गरे ।

भेटमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको बताए । यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आश्वासन उनले दिए ।

सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्विडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरू पहिचान गरी आवश्यक पहल गर्ने बताए ।

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्विडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ को जनवरीदेखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस